बीबीसी । हमासले गाजामा युद्धविराम तथा बन्धक रिहाइकाबारेमा अमेरिकी प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ । हमासले विज्ञप्तिमार्फत आफू तत्काल वार्ताको नयाँ चरणमा प्रवेश गर्न तयार रहेको स्पष्ट पारेको हो ।
बीबीसीसँग कुराकानी गर्दै एक वरिष्ठ हमास अधिकारीले हमासले प्रस्तावको मूल ढाँचा स्वीकार गरेको तर केही महत्वपूर्ण संशोधनको माग राखेको जानकारी दिए। तीमध्ये प्रमुख मागमा यदि स्थायी युद्ध अन्त्यका लागि वार्ता विफल भएपनि युद्ध पुनः सुरु नहुने सुनिश्चितता अमेरिकाले दिनुपर्ने उल्लेख गरिएको छ ।
यसबारे अहिलेसम्म इजरायल वा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि, विगतमा यस्तै मागहरू इजरायल र अमेरिकाले अस्वीकार गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले ६० दिनको युद्धविरामका लागि आवश्यक सर्तहरू स्वीकार गरिसकेको दाबी गर्दै हमासलाई अन्तिम प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘यो भन्दा राम्रो प्रस्ताव आउँदैन, अवस्था झन् बिग्रन सक्छ।’
प्रस्तावअनुसार हमासले १० जना जीवित इजरायली बन्धक तथा १८ जनाको शव फिर्ता गर्नेछ भने त्यसको सट्टामा इजरायली जेलमा रहेका कैयौँ प्यालेष्टिनी कैदीहरू रिहा गरिनेछ।
हाल गाजामा झन्डै ५० जना बन्धक रहेका र तीमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ । प्रस्तावमा मानवीय सहायताको तत्काल आपूर्ति सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ तथा रेडक्रसको संलग्नता हुने उल्लेख छ।
तर हमासले सहायता वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूलाई मात्रै दिनुपर्ने र इजरायल–अमेरिका समर्थित गाजा ह्युमनिटेरियन फाउन्डेशनको प्रणाली तत्काल अन्त्य हुनुपर्ने माग राखेको छ।