त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । ग्लासगोस्थित टिटवुडमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

नेपाल आज जित निकाल्दै सिरिजको शुरुवात गर्ने दाउमा रहेको छ । नेपालले आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप यस सिरिज खेल्न लागेको हो । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत भएको त्रिकोणात्मक सिरिज सकिएपश्चात् नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच टी-२० सिरिज खेलाइएको हो ।

यसअघि भएको विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजको दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसैले नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।

नेदरल्यान्ड्स आइतबार भएको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले आफ्नो पछिल्लो पाँच खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ । यता नेपालले आफ्नो पछिल्लो पाँच खेलमा तीन जित निकाल्दा एक खेल नतिजाविहीन हुँदै टुंगिएको थियो भने एक खेलमा पराजित भएको थियो । गत अप्रिलमा हङकङमा भएको चार देशीय टी-२० सिरिजको फाइनल खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच भेटमा नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने नेपालले दुई खेल आफ्नो पक्षमा पार्न सकेको छ । पछिल्लोपटक गत जुनमा आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको समूहचरणको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *