काठमाडौं । एएफसी एसियन कप-२०२७ को छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र लाओस भिड्दैछन् । लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरु हुनेछ ।
नेपाल आज छनोटमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । छनोटमा एक खेल खेलेको नेपाल अंकविहिन रहेको छ । मार्चमा मलेसियाविरुद्ध भएको छनोटको खेलमा नेपाल २-० गोलले पराजित भएको थियो । यता लाओसपनि छनोटमा अंकविहीन छ । लाओस पहिलो खेलमा भेतनामसँग ५-० गोलले पराजित भएको थियो । होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्ने तालिका रहेको छ ।
लाओस प्रस्थान गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसपछि नेपाल हङकङबाटै सिधैं लाओस पुगेको थियो ।
दुई टोलीबीच दुई वर्ष अगाडि भएको विश्वकप छनोटको पहिलो चरणको पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा दोस्रो लेगमा नेपाल १-० गोलले विजयी भएको थियो ।