स्पेनलाई हराउँदै पोर्चुगल नेसन्स लिग च्याम्पियन

एजेन्सी । पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लगाइएको हो । पेनाल्टी सुटआउटमा पोर्चुगलको लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डेस र रुबिन नेभेसले गोल गर्दा स्पेनको लागि मिकेल मेरिनो, एलेक्स बएना, र इस्को गोल गरे । अल्भारो मोराटाको प्रहार भने पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले पन्च गर्दै बाहिर पठाए ।

यसअघि एल्लिनाज एरिनामा भएको खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन निर्धारित समयमै जित निकाल्नबाट वन्चित भएको थियो । पहिलो हाफको २१ औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा पेड्रो नेटोको पासमा नुनो मेन्डेसले गोल गर्दै  पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए ।

४५ औँ मिनेटमा पेड्रीको पासमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई फेरी २-१ गोलको अग्रता दिलाए । ६१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए । बाँकी निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

पोर्चुगलले यसअघि सन् २०१९ मा पहिलोपटक आयोजना भएको नेसन्स लिगको उपाधि जितेको थियो । यता स्पेन भने दोस्रोपटक फाइनलमा पराजित भएको छ । यसअघि स्पेन सन् २०२१ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *