अनलाइन बेटिङ खेलाएको आरोपमा १७ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १२ जना नेपाली र ५ जना भारतीय नागरिक छन् ।

उनीहरु भिजिट भिसामा दुबई पुगेर गत डिसेम्बरमा नेपाल फर्किएका हुन् । उनीहरूले भिजिट भिसामा दुबई जाँदा म्यानपावरलाई डेढदेखि २ लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएका छन् ।

पक्राउ पर्नेमा अछाम साँफेबगरका डायमन्ड कुँवर, सोही ठाउँका विकास थापा, अछाम चौरपाटीका मनोज बोगटी, सोही ठाउँका सुवास खड्का, कञ्चनपुर कुष्णपुरका राजेन्द्रबहादुर महता, कैलाली गौरीगंगाका अरविन खड्का, दाङ लमहीका विष्णुकुमार राउत, डोटी पूर्वीचौकीका तिलक खड्का, रुपन्देही तिलोत्तमाका पूर्णबहादुर दर्लामी मगर, नवलपरासी गैँडाकोटका जीतबहादुर महतो, भारत बिहारका ऋषभ रोज, बिहारकै दीपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन् ।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूलाई ललितपुरको नख्खुको सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो ।

लामो समयदेखि सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । प्रहरीले उनीहरूले प्रयोग गरेका मोबाइल, ल्यापटप, राउटर लगायत विभिन्न उपकरणहरू पनि बरामद गरेको छ । उनीहरूमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *