अमेरिका । दुङ्जिन रिन्पोछे (लामा दावा साङ्बो योल्मोपा) अमेरिकामा सम्मानित भएका छन् । बुद्ध धर्मसम्बन्धी पुस्तक लेखेको तथा बुद्ध धर्मको प्रचार प्रसार गरेको भन्दै दुङ्जिन रिन्पोछे अमेरिकामा सम्मानित भएका हुन् । अमेरिकी सरकारी अधिकारीले नै उनलाई सम्मान गरेका थिए ।
अमेरिकाको न्युयोर्क राज्यसभाबाट कदर गर्दै राज्यसभा सदस्य जेनिफर राजकुमारले रिन्पोछेलाई सम्मानपत्र हस्तान्तरण गरेको थिए ।
उनी बुद्ध धर्मको प्रचार प्रसार गर्ने काममा लामो समयदेखि लागिपरेका छन् । उनले कोरोना महामारीको अवधिमा ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक लेखेका थिए । यो पुस्तक अमेरिकामै विमोचन गरिएको थियो । उनी योल्मो कान्यिंग शेढुप लिङ गुम्बाका छैठौं प्रमुख लामा समेत हुन् । उनले आदिवासी जनजाति प्रतिष्ठानको सदस्य भएर पनि काम गरिसकेका छन् ।
यसैगरी उनले नेपाल योल्मो सामाजिक सेवा संघका अध्यक्ष, कर्मापा श्यामरङ संघका उपाध्यक्ष जस्ता जिम्मेवारी समेत सम्हालिसकेका छन् । साथै उनले लुम्बिनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टडिजबाट हिमालयन बुद्धिजममा पनि स्नातकोत्तर गरेका छन् ।
उनी ६ वटा भाषा बोल्ने दक्ष भाषाविद् पनि हुन् । अमेरिकाले यी थुप्रै कारणहरूका आधारमा पनि उनलाई सम्मान गरेको हो । अमेरिकाको सरकारी निकायबाट सम्मानित हुने उनी योल्मोपा समुदायको पहिलो व्यक्ति पनि हुन् ।