काठमाडौं । आफूलाई पूर्वप्रहरी भनि ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्लीका ४१ वर्षीय दीपेन्द्र सिंहलाई पक्राउ गरेको हो ।
उनलाई ठमेलको एक दोहोरी साँझबाट प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी भएको बताउने गरेका थिए ।
उनले ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा पनि अर्को मुद्दा दायर छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।