एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले विजयी शुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा पञ्जावले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
जितको लागि २ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३२ रनमात्र बनाउन सक्यो । गुजरातको लागि साइ सुधर्सनले ७४, जोस बटलरले ५४, शेर्फाने रुथरफोर्डले ४६ र कप्तान शुभ्मन गिलले ३३ रन बनाएपनि जितको लागि पर्याप्त बनेन ।
पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गरेको थियो ।
पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे । उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे । यस्तै प्रियांस आर्याले ४७, शाहांक सिंहले ४४, मार्कुस स्टोइनिशले २० र अज्मातुल्लाह ओमारजाईले १६ रनको योगदान गरे ।
गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए ।