प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर

काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरुमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ ।

कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराए ।

उनले भने, “छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ? उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।”

उनले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रुपमा अवलम्बन गर्दै अघि बढिरहेको बताए । उनले कोषले सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिए ।

सचिव उपाध्यायले बचतकर्ताको विश्वास जित्दै सङ्कलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिए । उनले ठूलो रकम मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औँल्याए ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी रोजगारी, गरिबी निवारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी सङ्कलन गरी अहिले दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफ भएको बताए ।

उनले कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए । उनले स्थापनासँगै निरन्तर नाफामा गइरहेको कोष बचत बढाउँदै जानु सफल भएको बताउँदै अझै बढाउने विश्वास व्यक्त गरे ।

कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा दुई करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ ।

विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।

कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा भोजराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोषका अध्यक्ष अच्युतम पौडेल, कोषको कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापालगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *