सङ्खुवासभाको मादीमा आयोजित राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

 

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइन खेल आइतबार सम्पन्न भएको हो ।

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा चार विधामा आयोजित प्रतियोगिता आज सम्पन्न भएको हो । नगरपालिकाले पुरुष डबल ‘ए’ डिभिजन, पुरुष डबल ‘बी’ डिभिजन, पुरुष भेट्रान्स डबल र महिला डबल विधामा प्रतियोगिता गराइएको थियो ।

पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका सुनिलजङ्ग कार्की र भोजपुरका विशाल तामाङको जोडी विजेता बनेको छ । कार्की र तामाङको जोडीले उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडीलाई पराजित गरेको थियो ।

पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका मुनुहाङ गुरुङ र निशान कटुवालको जोडी तथा विशाल खड्का र राम राईको जोडी तेस्रो भएका छन् । पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई र दिवन तामाङको जोडी विजेता बनेको छ । सङ्खुवासभाकै सन्दीप भगत र गङ्गालाल श्रेष्ठको जोडीलाई हराउँदै राई र तामाङको जोडी विजेता बनेको हो ।

पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दीपक पाठक र सुरज राईको जोडी तथा विनोद विक र राम गुरुङको जोडी तेस्रो भएका छन् ।

महिला डबलतर्फ उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईको जोडी विजेता बनेको छ । फाइनल प्रतियोगितामा प्रतिस्पर्धी इलामकी निशम हाङ सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठमध्ये एलिना राई खेलको सुरुआतीमा नै घाइते भएपछि राईको जोडी विजेता घोषित भएका थिए ।

महिलातर्फकै भोजपुरकी मनिशा गोले र अरुणा तामाङ तथा पोखराकी समिता पुन र तिलमाया राना तेस्रो भएका छन् ।

पुरुष भेट्रान्स डबल १०० माथि पोखराका विशाल खड्का र मोरङका उत्तम सिम्खडाको जोडी विजेता बनेको छ ।  फाइनल खेलमा सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र सिम्खडाको जोडी विजेता बनेको हो । यो विधामा जीवन बोगटी र पूर्ण बुढा तथा राम राई र धनबहादुर तामाङको जोडी तेस्रो भएका छन् ।

प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको आयोजक मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिए । प्रतियोगिता फागुन २९ देखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *