काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीले सरकार र खेलकुद परिषद्माथि निराधार आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले गएको चैत्र १ गते कमिटीले पत्रकार सम्मेलन गरी नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित प्रस्तुत भएर गलत सूचना दिएको भन्दै त्यसमा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गरे ।
उनले भने, ‘नेपाल ओलम्पिक कमिटीले गएको चैत्र १ गते शुक्रबार केही खेल संघका पदाधिकारीहरुलाई संलग्न गराइ पत्रकार सम्मेलनको आयोजना गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सम्मेलनमा मन्त्रालय र खेलकुद परिषद्माथि लगाएको निराधार आरोपको पूर्ण रुपमा खण्डन गर्छु । साथै यस्तो गलत सूचनामा आधारित भइ कुनै धारणा नबनाउन अनुरोध गर्छु । नेपालको कानुन र अन्तर्राष्ट्रिय अभ्यास विपरित उक्त सम्मेलनमा आफूहरुलाई नेपाल ओलम्पिक कमिटीको पदाधिकारी हौं भन्दै दाबी गर्नेहरुमाथि गैरकानुनी विषयलाई कानुनको परिधिमा आत्मासाथ गर्नुपर्ने हुन्छ ।’