झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ ।
आयोजक काँकडभिट्टाले सडनडेथमा ५–४ को गोल अन्तरले धरान एफसीलाई पराजित गरेको थियो । उपाधिका लागि काँकडभिट्टाले बिहीबार हुने चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबीचको अन्तिम सेमिफाइनलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३४औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट एक्लै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भएको थियो ।
खेलको ७२औँ मिनेटमा आयोजक काँकडभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
सडनडेथमा काँकडभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरेका थिए भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाएका थिए । टाइब्रेकरमा काँकडभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले नगद रु ११ हजार पुरस्कार पाए । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।
फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।