सुमना श्रेष्ठ ।
सरकार भन्छ, मुद्दा सल्टियो । केआइआइटी प्रशासन भन्छ, फिर्ता आऊ । विद्यार्थी भन्छन्–टेबल माथि सुताएर कुटेका छन्, कसरी जाऔँ ? के हामी नेपाली त्यति साह्रो निरीह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदासमेत सरकार–’नडराऊ म छु’–भनेर भन्न सक्दैन ? हात काँप्दै बोलेका छन् हाम्रा विद्यार्थी प्रेस मिटिङ्मा । अर्काको देशमा पैसा तिरेर आफैं पढ्न जाँदा हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो नातिनी मर्नेसम्मको स्थितिमा पुग्छिन् त अरू रेल्वे स्टेशनमा फालिन्छन् । हाम्रो सरकारले ‘आइन्दा उसले त्यस्तो गर्दैन, फिर्ता जाऊ’ भन्न सकेको कसरी ?
खै हाम्रा विद्यार्थीलाई नेपालमा नै फिर्ता आएमा यहाँ पढाई निरन्तर गर्ने अवसर ? खै नेपाल फर्केका विद्यार्थीका लागि मनोसामाजिक परामर्श सेवा ? खै शिक्षामन्त्रीज्यू र स्वास्थ्यमन्त्रीज्यूको अपनत्व ? हामी कस्तो स्थितिमा आइपुगेका छौँ ? नेपालमा बसेर पढ्नेलाई पार्टीको भातृ सङ्गठनमा लाग्न धम्की दिइन्छ । विद्यार्थी एउटै कोठामा बसेर डरले फोन गर्छन् ।
अस्पतालका डाक्टर आफ्ना सहायक प्राध्यापकको यातनाका कारण औषधि खाएर आत्महत्या गर्ने प्रयास गर्छन् । बाँकी डाक्टर भन्छन्, ‘हामीलाई सुरक्षित महसुस गराई दिनुस्।’ नेपाल बाहिर एक जनाले आत्महत्या गरेको बारे न्याय माग गर्दा सबै नेपाली विद्यार्थी अपहेलित हुँदै कुटिन्छन्, लखेटिन्छन् । सदन केही नभएको जस्तो चल्छ, सदनमा बोल्न दिदैनन्, नेपाल सरकार उताको प्रशासनले भनेको कुरामा ढुक्क हुँदै बसेको छ, विद्यार्थीलाई एक्लै छोडीदियो–अभिभावकत्व सकियो । नेपाली विद्यार्थी न नेपालमा सुरक्षित छन् न नेपाल बाहिर । कहिलेसम्म आखिरी ? कहिलेसम्म चल्ने हो यस्तो नियत र यस्तो ओठे जवाफ ? कहिलेसम्म यस्ता दासत्व स्वीकार गर्ने हो नेपालीले ?