काठमाडौं । प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आइतबारको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखे । यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे ।
‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताए ।
यस्तै ‘विधायन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा विमला सुवेदी, सन्तोष परियार र ध्रुवबहादुर प्रधानले भाग लिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले नागरिक अधिकारलाई अझ सशक्त बनाउन तथा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन सो विधेयक अघि बढाइएको स्पष्ट पारे ।
सभामुख देवराज घिमिरेले कानूनमन्त्री चौरसियाले जवाफ दिने क्रममा सो विधेयकमा समावेश गर्नेगरी सरकारका तर्फबाट स्वीकार गरेको संशोधन निर्णयार्थ प्रस्तुत गरी ती संशोधन स्वीकृत भएको घोषणा गरे ।