काठमाडौं । कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको मद्दतमा फ्रेन्ड्स युथ क्लब डढेलधुरा अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डढेलधुरा फाइनलमा पुगेको हो ।
जितको लागि ८३ रनको विजयी लक्ष्य पछ्याएको डढेलधुराले १५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । डढेलधुराको लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । उनले २६ बलमा ६ चौका र २ छक्का हिर्काए । अर्का ओपनर आयुष्मन बमले १६ रन बनाउँदा किरण थागुन्नाले ८ र कप्तान सन्दिप जोराले ६ रन बनाए ।
बुटवलको लागि प्रिन्स पलले तीन विकेट लिँदा महेश भार र निर्मल गुरुङले एक/एक विकेट लिए ।
यसअघि धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६.१ ओभरमा अलआउट हुँदै ८२ रन बनाएको थियो । बुटवलको लागि आरिफ खानले २०, दिपाल डुम्रेले १८ र निश्चल ज्ञावालीले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
बुटवललाई सस्तैमा समेट्न कुशल भुर्तेलले ३.१ ओभरमा १८ रन दिएर पाँच विकेट लिए । यस्तै अजय चौहानले तीन विकेट लिँदा हेमन्त धामी र अशोक धामीले समान एक/एक विकेट लिए ।
अब भोलि हुने दोस्रो सेमिफाइनल खेलमा सिवाईसी अत्तरिया र धनगढी भिड्नेछन् ।