काठमाडौँ । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ६ सदस्यीय नेपाली टोली बुधबार दुबई जानेछ । फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङदेम्बेले महिला २ सय र ४ सय मिटर दौड तथा लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ । टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।
टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार बिदाइ गरे ।