व्यवसायीमाथि निर्घात कुटपिट गरेको आरोपमा जनकपुरमा पाँच जना पक्राउ

जनकपुरधाम । जनकपुरधाममा दुई व्यवसायीबीचको व्यवसायिक विवादको क्रममा एक व्यवसायी निर्घात कुटिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा व्यवसाय गर्दै आईरहेका सर्लाहीको बरहथवा नगरपालिका ८का ३७ वर्षीय व्यवसायी मुकेशप्रसाद यादवमाथि फलामको रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका यादवको जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ । कवाड संकलन सम्बन्धी टेण्डर व्यवसायी फेकु साह र मुकेशले संयुक्त रुपमा लिएका थिए ।

सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीलाई सँगै लिएर आएको बेला दुबैबीच विवाद भएको थियो । सोही विषयलाई लिएर व्यवसायी फेकु साहसहितको समूहले मुकेशमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुलसी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३का १७ वर्षिय विकास कुमार साह लगायतले आक्रमण गरेका थिए ।

घटनामा फेकु साहका तीन छोरा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *