-नारायण गाउँले
वादविवाद र आत्मप्रचारबाट बचेर यसैगरी ‘डेलिभरी’तिर ध्यान दिनुहोला । स्वास्थ्यमन्त्रालयले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली स्थापना गर्दै रहेछ । अब एउटै रोगका लागि डाक्टर र हस्पिटलपिच्छे बारम्बार नयाँ परीक्षण गर्नुनपर्ने गरी प्रणाली विकास गरिँदै रहेछ । अहिलेसम्म देशमा त्यस्तो एकीकृत जनस्वास्थ्य अभिलेख नहुनु दुःखद थियो । यसले बिरामीको मेडिकल हिस्ट्री नरहने, रोग पहिचान र उपचारमा एकरूपता र सहजता नहुने अनि हरेकपल्ट शून्यबाट सुरु गर्नुपर्दा सेवाग्राहीलाई ठूलो आर्थिक भार पर्ने गरेको थियो । सरकारसँग पनि भरपर्दो स्वास्थ्य तथ्याङ्क नहुनाले नीतिनिर्माणमा समेत असहजता थियो ।
अब सरकारी र निजी दुबै स्वास्थ्य संस्थालाई समन्वय गर्दै तैयार भएको प्रणालीमा चिकित्सकले परीक्षण रिपोर्ट र उपचारसम्बन्धी सबै विवरण अनिवार्य राख्नुपर्ने भएपछि चिकित्सकीय लापरवाहीका कारण हुने दुर्घटना पनि कम हुनेछ भने बिरामीले खाएका औषधिदेखि पुराना रोग र उपचारबारे हराएका कागजपत्रको चिन्ता लिन पर्ने छैन । वंशाणुगत स्वास्थ्यविवरण, ‘अन्डरलाइङ् हेल्थ इस्यु र कन्डिशन’देखि औषधि, त्यसको व्यक्तिगत प्रभाव र एलर्जीजस्ता महत्त्वपूर्ण सूचना डाक्टरलाई सजिलै उपलब्ध हुनाले ‘डिसिजन मेकिंग’ पनि प्रभावकारी हुनेछ । खासगरी इमरजेन्सी उपचारमा यस्तो ऐनाजस्तो तथ्याङ्कको ठूलो लाभ हुन्छ । एउटा चिकित्सकले गर्ने उपचार र परीक्षणको रेकर्ड रहने भएपछि त्यसको अडिट गर्न सकिनेछ ।
बिरामीसँग अनुमति (कन्सेन्ट) लिएर सम्बन्धित चिकित्सक या स्वास्थ्यकर्मीले मात्रै पहुँच पाउने गरी निर्माण हुने विद्युतीय पोर्टलले हरेक नागरिकको आफ्नै स्वास्थ्य एप, आफ्ना सम्पूर्ण स्वास्थ्य विवरण र परीक्षण रिपोर्टहरू, चिकित्सकीय सल्लाह र सुझाव दिन सक्नेछ ।यस्तो प्रणालीमा निजी र सरकारी दुबै अस्पताल जोडि़एपछि आइसियुको बेड खोज्दा खोज्दै एम्बुलेन्समैँ बिरामीको मृत्यु हुने घटना पनि कम होला भन्ने आश छ । हस्पिटलले रिफर गर्दा देखिने गरेको अनुत्तरदायितालाई सम्बोधन गर्दै कड़ा निर्देशिका लागू भएको रहेछ । हस्पिटलको बेड, चिकित्सकको उपलब्धता र विशेषज्ञतासम्बन्धी सूचना लाइभ हुन सकेमात्रै पनि धेरैको ज्यान बचाउन सकिन्छ ।
उहाँले आउनेबित्तिकै सरकारी हस्पिटलमा एक्सरे र अन्य स्क्यानको ‘फिल्म’लाई डिजिटल बनाएर ‘फिल्म’को खरीदमा हुने खर्चलाई प्रणाली विकासतिर सोझ्याउनुभएको थियो । विदेशी दातासँग समन्वय गर्दै स्रोत सुनिश्चित गरेर स्ट्रोकको बिरामीलाई निःशुल्क औषधि, १४ वर्षमुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार र देशभर जलनका बिरामीको निःशुल्क उपचारको व्यवस्था समेत गर्नुभएको थियो । स्वास्थ्यबीमालाई समेत प्रभावकारी र व्यापक बनाउँदै त्यसको सीमा पाँच लाखसम्म पुर्याउने तैयारी भइरहेको पढिएको थियो । विद्युतीय तथ्याङ्कले बीमालाई व्यवस्थित र प्रभावकारी मात्रै बनाउँदैन, मिसयूज हुनबाट समेत बचाउन सक्छ ।
ती प्रसंशनीय काम थिए, तर ती यसअघि समेत हुँदै आएका उपलब्धि र कामको निरन्तरता थिए । तर आफूले समेत लामो समयदेखि अपेक्षा राख्दै र लेख्दै आएको एकीकृत डिजिटल स्वास्थ्य अभिलेखबारे यसरी छोटो समयमा उल्लेख्य काम सम्पन्न भएर कार्यान्वयनको तहमा आइपुगेकोमा खुसी लागेको छ । यो चाहिँ गेमचेन्जर नै हुन सक्छ ! प्रदीपजीलगायत मन्त्रालयको टिम र नेपाल सरकारलाई धन्यवाद !