काठमाडौं । काठमाडौंमा हुने त्रिकोणात्मक महिला टी-२० आई सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई खेल्दैछ । यू-१९ महिला विश्वकप खेलेका दुई खेलाडी पूजा महतो र अलिशा कुमारी यादवपनि टोलीमा पनि परेका छन् । यस्तै पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर टोलीमा निरन्तरता पाउँदा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन् ।
जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सिरिजमा सबै टोलीले एक अर्कासँग तीन/तीन खेल खेल्ने छन् ।
पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।