विपिन जोशीको रिहाइका लागि इजिप्टका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीबीच टेलिफोनमा कुुराकानी भएको छ ।

परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्रीलाई टेलिफोन गरेकी हुन् । त्यसक्रममा परराष्ट्रमन्त्री राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी छन् ।

राणाले भनिन्, ‘हामीले गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे छलफल गर्यौं । इजिप्टका विदेशमन्त्रीले हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइलाई प्राथमिकता दिन गाजाका आफ्ना वार्ताकारहरूलाई विशेष निर्देशन दिने बताउनुभएको छ । हामी आशा गर्छौं जोशी छिट्टै रिहा हुनुहुनेछ ।’

गाजामा इजरायल र हमासबीच आइतबारदेखि युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौताअनुसार हसाले तीन जना बन्धक रिहा गरेको छ । त्यस्तै हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ ।

तर उक्त सूचीमा विपिन जोशीको नाम छैन । केही दिनअघि परराष्ट्रमन्त्रीले कतारका विदेश राज्यमन्त्रीसँग पनि टेलिफोनमा कुराकानी गरी जोशीको रिहाइको पहल गर्न आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *