विपक्षीको पोस्टमा सिटीको आधी दर्जन गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले इप्स्विचलाई ६-० गोलले हराएको हो ।

पोर्टम्यान रोडमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गर्दा माटियो कोभासिक, जेरेमी डोकु, इर्लिंङ ब्राउट हालान्ड र जेम्स म्याटेले समान एक/एक गोल गरे ।

खेलको २७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा फोडेनको पासमा कोभासिकले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो ३-० गोलको अग्रता दिलाए ।

४९ औं मिनेटमा डोकुले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए । ५७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ५-० गोलको अग्रता दिलाए । यस्तै ६९ औं मिनेटमा म्याटेले गोल गर्दै सिटीलाई ६-० गोलको जित दिलाएका हुन् ।

जितसँगै सिटी २२ खेलबाट ३८ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको इप्स्विच १८ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *