खो खो विश्वकपमा पुरुषतर्फ पनि नेपाल उपविजेता, फाइनलमा भारतसँग पराजित

काठमाडौं । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो ।

पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *