काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । डाल्लसस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । पछिल्लो समय खराब लयमा रहेको नेपालले जारी लिगमा मात्र दुई खेलमा जित निकालेको छ । हाल नेपाल ११ खेलबाट ५ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ । यस्तै १० खेलबाट १३ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा रहेको छ । पछिल्लो ५ खेलबाट स्कटल्याण्डले चार खेल जित्दा एक खेलमा हार बेहोरेको छ ।
जारी सिरिजमापनि नेपालले तीन खेल खेल्दा एक जित निकाल्दै दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्याण्डमाथि ५ विकेटको जित निकालेको थियो । यस्तै तेस्रो खेलमा अमेरिकासँग ३७ रनले हार बेहोरेको थियो ।
नेपालको स्कटल्याण्डविरुद्धको पछिल्लो नतिजा भने सन्तोषजनक रहेको छ । दुई टोलीबीच भएको पछिल्लो ५ भेटमा नेपालले तीन खेल जित्दा दुई खेल स्कटल्याण्डले आफ्नो पक्षमा पारेको छ ।