डा. विश्व पौडेल ।
विसं २०११ श्रावण ९ देखि १३ गतेसम्म मध्य नेपालमा ठूलो बाढी गयो जसमा एक हजारभन्दा बढी मानिस मरे र १ लाख ३२ हजार भन्दा बढी मानिस प्रभावित भए । त्यसपछि चितवनमा अमेरिकी सहयोगमा एउटा पुनर्स्थापना कार्यक्रम बनाइयो । शुरुमा भरतपुरबाट हेटौंडा जोड्ने ७८ किलोमिटर सडक बनाइयो, रक्सौलबाट अमलेखगंजसम्म रेल आइपुगेकै थियो त्यसलाई चितवनसम्म जोड्ने योजना बनाइयो । चितवनमा कृषिमा आधारित उद्योग शुरु गर्ने लक्ष्यका साथ नुवाकोटको देवीघाटमा विजुली उत्पादन गरेर चितवन लैजाने योजना बनाइयो । त्यहाँको उद्योगहरुको लागि विभिन्न सहुलियत घोषणा गरियो ।
चितवनमा प्रथम पञ्चवर्षीय योजना (२०१३–१८) भित्र ५० हजार विघामा २५ हजार परिवार स्थापित गर्ने योजना ल्याइयो । कल्भर्ट र सिंचाइ योजना बनाइयो, स्कुल र स्वास्थ्यकेन्द्र बनाइयो, मलेरिया उन्मुलनको लागि डिडिटी छर्ने कार्यक्रम ल्याइयो र अन्तत्वगत्वा रामपुरमा कृषि क्याम्पस खोलियो । आज चितवनमा कृषि, पशुपंछीपालन र यसमा आधारित उद्योग, पर्यटन आदि फस्टाएका छन् । सरकारले सडक पुर्वाधार राम्रो बनाए पुरै चितवनबाट काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवलजस्ता शहरहरु दुईघण्टाको दुरी भित्र हुनेछन् र त्यहाँको कृषि र उद्योग झन् उँभो लाग्नेछ ।
बाढीपहिरोले अमेरिकामा पनि वर्षेनि सयौंको ज्यान जान्छ, चीनमा पनि जान्छ त्यसैले यो मानिसको प्रकृतिसँगको निरन्तर संघर्षको एक पाटो हो । हिजै मात्र अमेरिकामा ९५ जना मान्छे हेलेनले ल्याएको बाढीमा परेर मरे । मुख्यकुरा यसपछि हामी सुरक्षित हुन के गर्छौं भन्ने पनि हो ।