अमेरिकी राष्ट्रपतीय निर्वाचनमा को बलियो, ट्रम्प कि ह्यारिस ?

जेरेमी हवेल, बीबीसी । अमेरिकामा मंगलबार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदै छ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्। उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ। कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन्।

राष्ट्रपतीय बहस कहिले हुन्छ र यसका नियम के-के हुन्?

उक्त बहस फिलाडेल्फियामा १० सेप्टेम्बरमा हुन्छ र ‘ईएसटी’अनुसार राति ९ बजे सुरु हुन्छ। यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो। राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो। एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्‍नी प्लस र ‘हुलु’बाट ‘लाइभस्ट्रीम’ हुन्छ।

बहसमा कडाइका साथ समयसीमा तोकिएको हुन्छ। हरेक उम्मेदवारले सञ्चालकले सोधेका प्रश्‍नको जबाफ दिन अधिकतम दुई मिनेटको समय पाउँछन् भने खण्डनका निम्ति पनि दुई मिनेटकै समय पाउँछन्। दोस्रो उम्मेदवारले बोलिरहँदा अर्काको माइक्रोफोन बन्द गरिएको हुन्छ। उक्त बहसकक्षमा दर्शकहरूको उपस्थिति हुँदैन। ह्यारिसले बहस अवधिभर माइक्रोफोन बन्द नगर्ने इच्छा राखेकी भए पनि हालै उनी नियमप्रति सहमत भएकी छन्। सन् २०२० मा बाइडन र ट्रम्पको पहिलो बहस आपसी चर्काचर्की र एकअर्काले बोल्दै गर्दा बीचबीचमा हस्तक्षेप गरिएका कारण भद्रगोल भएपछि चार वर्षअघि नयाँ नियम ल्याइएको थियो। मङ्गलवारको बहसलाई सञ्चालकद्वय डेभिड म्युर र लिन्जी डेभिसले सञ्चालन गर्ने छन्। दुवै एबीसीका समाचारमूलक कार्यक्रमका प्रस्तोता हुन्।

बहसकर्ताका रूपमा ह्यारिसको तागत के हो ?

कमला ह्यारिसले सन् २००३ देखि नै चुनावी बहसमा भाग लिँदै आएकी छन्। उनले पहिलो बहसपछि सान फ्रान्सिस्कोको ‘डिस्ट्रिक्ट अटोर्नी’ पदमा जित हासिल गरेकी थिइन्। त्यस्तै उनले क्यालिफोर्नियाको ‘अटोर्नी जनरल’ तथा क्यालिफोर्नियाका निम्ति अमेरिकी सेनेटरमा चुनिने बेलाका अभियानका बहसहरूमा पनि भाग लिएकी थिइन्। सन् २०१९ मा डेमोक्र्याटिक पार्टीका निम्ति राष्ट्रपतीय मनोनयनका निम्ति प्रतिस्पर्धा गर्ने क्रममा उनले जो बाइडनसँग बहस गरेकी थिइन् भने सन् २०२० मा उपराष्ट्रपतीय बहसका क्रममा उनको साक्षात्कार माइक पेन्ससँग भएको थियो।

उनले मञ्चलाई काबुमा राख्न सक्ने क्षमता देखाएकी छन्। सन् २०२० को बसहमा आफूले बोल्दाबोल्दै बीचैमा बोल्न पुगेका पेन्सलाई हप्काउँदै कमलाले ‘उपराष्ट्रपतिज्यू, म बोलिराखेकी छु’ भनेकी थिइन्। ह्यारिसले अमेरिकी सेनेट तथा त्यसअघि क्यालिफोर्नियाका अदालतहरूमा अभियोजक छँदा पनि बहसको प्रशस्त अनुभव हासिल गरेकी थिइन्, जहाँ विपक्षीको कमजोरी उजागर गर्नुलाई मुख्य कौशल मानिन्छ। यसले बहसका क्रममा डोनल्ड ट्रम्पले प्रस्तुत गर्ने बुँदाहरूलाई खण्डन गर्न उनलाई मद्दत गर्न सक्छ।

यद्यपि सन् २०२० को डेमोक्र्याटिक राष्ट्रपतीय मनोनयनका बेला भने उनी असफल रहिन्। उनी आइओवाको पहिलो बहसअघि नै मैदानबाट बाहिरिएकी थिइन्। स्थिर नीतिगत अडान नभएको भन्दै उनको आलोचनासमेत भएको थियो। मंगलबारको बहसमा ह्यारिसलाई सञ्चालकहरूले नीतिसम्बन्धी केही कडा प्रश्न सोध्न सक्ने सम्भावना छ।

ह्यारिस सार्वजनिक कार्यक्रममा आवश्यकताभन्दा बढी शब्द खर्चने व्यक्तिका रूपमा समेत देखिँदै आएकी छन्। उदाहरणका निम्ति हालैको सीएनएन अन्तर्वार्तामा उनले भनिन्, ‘यो जरुरी छ कि हामीलाई यो अत्यावश्यक विषयका निम्ति समयमा आधारित ‘मेट्रिक्स’ लागु गरी समयको म्याद पालन गर्नुपर्ने छ।’ राष्ट्रपतीय बहसमा बोल्ने समय वास्तवमै सीमित हुन्छ भने आफ्नो अभियानको सन्देश मतदातासम्म स्पष्टसँग पुर्‍याउनुपर्ने पनि हुन्छ।

बहसकर्ताका रूपमा ट्रम्पको क्षमता के हो ?

मङ्गलवारको ट्रम्पविरुद्धको बहस ह्यारिसका निम्ति उनले यो प्रतिस्पर्धामा प्रवेश गरेयताकै सबैभन्दा ठूलो चुनौती हुनेछ। सन् २०१६ र २०२० गरी दुई चरणको बहसमा भाग लिइसकेका ट्रम्पले निकै जुझारु र अपरम्परागत विपक्षीका रूपमा स्वयंलाई साबित गरिसकेका छन्। सन् २०१६ को हिलारी क्लिन्टनसँगको बहसका क्रममा ट्रम्प मञ्चको वरपर घुमिराखे र क्लिन्टनले बोल्न थालेपछि उनको ठिक पछिल्तिर उभिन पुगे। हिलारीले उनको क्रियाकलापले ‘आफू असहज बनेको’ बताइन्। सन् २०२० को पहिलो बहसमा जो बाइडनले कुरा राख्दै गर्दा बीचमा ट्रम्प बोलेको बोल्यै गरेपछि बाइडनले ट्रम्पलाई ‘के तिमी चुप लाग्छौ?’ भनेका थिए। यी जुक्तिहरूले विपक्षीलाई बाधा पुर्‍याए भने उनलाई आकर्षणको केन्द्रमा राखे। तर ट्रम्प प्रायश: बोल् बोल्दै विषयवस्तुबाट भड्किने गरेका छन् भने उनका कतिपय दाबीलाई तथ्यजाँचकर्ताहरूले मिथ्या ठहर्‍याएका छन्।

सर्वेक्षणमा कुन उम्मेदवार अघि छन् ?

गत जुलाईमा राष्ट्रपतिका रूपमा पुन: चुनावका लागि उभिनुअघि जो बाइडन मतदाता सर्वेक्षणमा राष्ट्रिय स्तरमा र धेरै ‘स्विङ स्टेट’हरूमा डोनल्ड ट्रम्पभन्दा पछि देखिएका थिए। राजनीतिक विश्लेषण गर्दै आएको ‘रिअल क्लिअर पलिटिक्स’ नामक संस्थाले गरेको देशव्यापी सर्वेक्षणको संश्लेषणअनुसार चुनावी मैदानमा सामेल भएयता ह्यारिसले तीन अङ्क हासिल गरेकी छन्। उक्त संस्थाले जनाएअनुसार सेप्टेम्बर ३ सम्मको राष्ट्रिय स्थितिमा उनी ट्रम्पभन्दा १.९ अङ्कले अघि थिइन्।

यद्यपि सन् २०१६ मा यही स्थितिको राष्ट्रिय सर्वेक्षणहरूमा हिलारी क्लिन्टन पनि पाँच अङ्कले अघि थिइन्, तर ट्रम्पसँग हार्न पुगिन्। राष्ट्रिय सर्वेक्षणको तुलानामा राज्यभित्र गरिने सर्वेक्षणहरू महत्त्वपूर्ण मानिन्छन् किनभने अलगअलग राज्यका मतपरिणामले उम्मेदवारले ‘इलेक्टोरल कलेज’मा हासिल गर्ने मत निर्धारण गर्छ र ‘इलेक्टोरल कलेज’ले को राष्ट्रपति बन्छ भन्ने तय गर्छ।

त्यहाँ एरिजोना, जोर्जा, मिशिगन, नोर्थ क्यारलाइना र पेन्सिल्भेनियाजस्ता ‘स्विङ स्टेट’हरू पनि छन्, जुन उम्मेदवारहरूका लागि जित हासिल गर्न महत्त्वपूर्ण छन्। यी सबैमा कडा प्रतिस्पर्धा छ। सेप्टेम्बरको सुरुमा ‘रिअल क्लिअर पलिटिक्स’ले ह्यारिसले मिशिगन र जोर्जाको सर्वेक्षणमा ट्रम्पलाई उछिनेको, पेन्सिल्भेनियामा बराबरी स्थितिमा रहेको र एरिजोना तथा नोर्थ क्यारलाइनामा ट्रम्पभन्दा पछाडि रहेको जनाएको थियो। राजनीतिक विश्लेषकहरू यी प्रक्षेपणहरू चुनावी नतिजाको नजिक रहेकोमा सहमत छन्। राष्ट्रपतीय चुनाव जित्नका निम्ति ‘इलेक्टोरल कलेज’बाट २७० मत हासिल गर्नुपर्छ। हालैका सर्वेक्षणहरूले डेमोक्र्याट्सका निम्ति २२६ र रिपब्लिकन्सका निम्ति २१९ मत सुनिश्चित रहेको देखिएको छ। बाँकी ९३ मत जसलाई पनि जान सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *