काठमाडौँ। एन्फा महिला लिगमा विभागीय टोली एपीएफ विजयी भएको छ। शनिबार दिउँसो भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफले महिला लिगमा पहिलो जित दर्ता गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन सविता राना मगर र गीता रानाले समान एक-एक गोल गरिन् । आर्मीको लागि बिमला चौधरीले एक गोल फर्काइन् । पहिलो हाफको इन्जुरी समयमा सविताले गोल गर्दै पीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
५७ औं मिनेटमा बिमलाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । ६८ औ मिनेटमा गीताले पेनाल्टीमा गोल गर्दै एपीएफलाई २-१ गोलको अग्रता दिलाएकी हुन् । जितसँगै एपीएफले दुई खेलबाट चार अंक जोडको छ । आर्मीले समान खेलबाट तीन अंक जोडेको छ ।