बालेनको ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो ?

नारायण गाउँले ।
काठमाडौँ महानगरले बालश्रम र शोषणमा रहेका करिब ५० जना बालबालिकाको उद्धार गरेर तिनको हेरचाह गरिरहेको रहेछ । तीन महिनाअघि एमाले प्रदेश सांसद रेखा शर्माको घरबाट १४ वर्षकी एक बालिकाको उद्धार गरिएको रहेछ ।
त्यो उद्धारसँग बालेनको प्रत्यक्ष सम्बन्ध पनि रहेनछ । महानगरले बालबालिकाको हक, सुरक्षा र श्रमशोषणबारे अध्ययन गर्न र सचेतना फैलाउन केही विद्यार्थी स्वयंसेवक नै छनोट गरेर विभिन्न क्षेत्र र विद्यालयमा पठाएको रहेछ ।
बालेन होइन, तिनै विद्यार्थीको टोली ती बालिका पढ्ने विद्यालयमा पनि पुगेको रहेछ । विद्यालयमा कुनै एक शिक्षकलाई बालसंरक्षणको फोकल पर्सन तोकिएको हुन्छ । तिनै शिक्षकको समन्वयमा आफ्ना आमाबुबाबाहेक अरूसँग बस्ने पाँच जना विद्यार्थीको नाम टिपेर त्यो टोलीले बालअधिकार र श्रमबारे केही प्रश्न सोधेको रहेछ ।

तिनै पाँच जनामध्ये एक बालिकाले विगत ६ वर्षदेखि आफूलाई बन्धकजस्तै बनाएर राखिएको र घरपरिवारसँग भेट गर्नसमेत नदिइएको जवाफ दिइन् । हात, पाइप र लठ्ठीले पिटेर यातना दिने गरेको अनि घरमा पोछा लगाउनेदेखि बगैँचा रेखदेख गर्नेसम्मका काममा लगाउने गरेको जवाफ उनले दिएपछि विद्यार्थीको त्यो टोली अचम्म पर्यो । यो उत्तरले जसलाई पनि सजग बनाउन सक्थ्यो र पर्थ्यो । श्रमशोषण र यातना दुबै गम्भीर अपराध थिए ।

जब यो जानकारी मेयर बालेनसम्म पुग्यो, उनले त्यही गरे, जे म या तपाईं भएको भए गर्ने थियौँ । बालसुरक्षा कानुनी जिम्मेवारी पनि हो । गत जेठ १४ गते बालिकाको उद्धार भयो । नेपाल प्रहरी, बालबालिका खोजतलास गर्ने सरकारी निकाय, सम्बन्धित वडाका जनप्रतिनिधि र महानगरको बाल–उद्धार कर्मचारीसहितको टोलीले उनलाई उद्धार गरेको रहेछ । उनलाई अस्थायी संरक्षण गृहमा राखिएको थियो ।

यो गम्भीर अपराध भएकाले नेपाल सरकार र प्रहरी आफैं वादी भएर तत्काल कानुनी उपचार खोजिनुपर्ने थियो । तर यहाँ राजनैतिक कनेक्शन बीचमा आयो । प्रहरीले आलटाल गर्यो । सांसद शर्मा दाङ जिल्लाकी हुन् र त्यहाँ केही वर्षअघिसम्म पनि कमैया र कमलरी प्रथा कायम थियो । कुनै तलब र सुविधाबिनै बन्धक जस्तै बनेर थारू समुदायका बालबालिकादेखि महिला–पुरुषसम्म जमिनदारको घरखेतमा काम गर्थे । पाँच–सात वर्षका कलिला बालिकाले जूठा भाँड़ा माझ्दै गरेको दृश्य सामान्य थियो । हरेक वर्ष माघीमा कलिला बालिकालाई कमलरीको रूपमा बेचबिखन हुन्थ्यो । यो पूर्वतिर धेरैलाई थाहा नभए पनि मध्यपश्चिम नेपालको पाशविक इतिहास थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५७ साल साउन २ गते यो प्रथालाई औपचारिक बन्देज गरिएको भए पनि आर्थिक रूपले विपन्न हुनाले अझै पनि यो समुदाय श्रमशोषणको मारमा छँदै छ । एमालेकी प्रख्यात युवानेतृ शान्ता चौधरी स्वयं पूर्व कमलरी हुन् ।

यो उद्धारपछि प्रहरीले नै अगाडिको काम कारवाही गर्नेछ भन्दै महानगर कुरेर बसेछ । तर प्रहरीले मुद्दा दर्ता गर्नुअघि नै उल्टो महानगरले आफ्नी छोरी अपहरण गरेको र भेट्न समेत नदिएको भन्दै छोरीको बुबा अदालत पुगेछन् । यहाँ लोभलालच, धम्की प्रयोग भएको थियो या बुबाको स्वेच्छा थियो भन्ने खुलेको छैन । प्रायः अलिकति पैसा लिएर छोरीलाई कामदारका रूपमा पठाउने त्यहाँको पुरानो चलन थियो । छोरी कामबाट हटेपछि पैसा फिर्ता मगिएको हुनसक्छ ।
महानगरले लहडको भरमा उद्धार गरेको थिएन, अदालतले अपहरण मान्ने कुरो भएन । बालिकाले त्यही बयान त्यहाँ पनि दिइन् । अझ बुबा भनिने त्यो व्यक्तिलाई त उनले चिन्न पनि सकिनन् । स्कुलको रेकर्डमा बाबुको नामसमेत अर्कै टिपाइएको रहेछ । अदालतले त्यो रिट खारेज गर्यो र महानगरलाई नै संरक्षण गर्न आदेश दियो ।

यसैबीच प्रहरीले जाहेरी लिएको र अनुसन्धान अघि बढाउने सम्भावना देखेर सांसद रेखा शर्मा धरपकड नगर्ने निषेधाज्ञा आदेश माग्दै आफै अदालत गइन् । मुद्दामाथि मुद्दा हुँदै जाँदा गत साउन २३ गते निषेधाज्ञा दिन अदालतले अस्वीकार गर्यो । अब प्रहरीले यो केस अघि बढाउन या पक्राउ गर्न बाटो खुल्यो । तर प्रहरी माथिल्लो दबाबमा पर्यो ।

बालिकाको भरणपोषण र शिक्षादीक्षा हेरिरहेको महानगरले प्रहरीलाई यो केसमा मुद्दा दर्ता र छानबिन के हुँदै छ भनेर गत भदौ ९ मा समेत लिखित रूपमैं सोधेको रहेछ । तर कतैबाट जबाफ आएन । तपाईं या म रेखा शर्माको ठाउँमा भएको भए तत्काल पक्राउ पर्ने केस थियो यो । तर उनी सत्ताधारी दलकी सांसद थिइन् ।

अब तपाईं बालेनको ठाउँमा आउनुहोस् र सोच्नुहोस् । तपाईंसँग के विकल्प बाँकी रहन्थ्यो ? यो विषयलाई यत्तिकै छोड्ने या आफ्नो पदीय र मानवीय दायित्व पूरा गर्दै सकेको गर्ने ? सामान्य घटना थिएन यो । गम्भीर बालअधिकार उल्लङ्घनको घटना थियो । उन्मूलन भएको कमलरी प्रथाको अवशेष थियो । एक साँझको झोक या भावुकताको कुरो थिएन । चार महिनादेखि न्यायलाई दबाउने अनेक कदम, दबाब र उपेक्षाको फ्रस्ट्रेशन थियो ।

प्रहरीले नसघाई यो मुद्दा किनारा लाग्दैन र केपी ओलीले नचाही एमाले सांसदविरुद्ध प्रहरी खुलेर जान सक्दैन । यो एमालेसँग बालेनको राजनैतिक दुश्मनीको विषय नै होइन । यो त आफ्नै कर्तव्य पालनाभित्रको न्यायिक लड़ाइँ हो नि, होइन र ? नढाँटी भन्नुस् त, तपाईं भए के गर्नुहुन्थ्यो ? एकछिन राजनीति, नेता, दल, सिद्धान्त, जित, हार या ईगोभन्दा माथि उठेर सोच्नुस् र भन्नुस् त, तपाईं के गर्नुहुन्थ्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *