डा. विश्व पौडेल ।
केहीअघि प्रतिनिधिसभामा धितोपत्र कारोबार सम्बन्धी ऐनको संसोधन प्रस्तुत भयो । एउटा छलफलमा साथीहरुलाई मैले भनें, धितोपत्र कारोबार सानो कोसिसले नै वर्षको १०० अर्ब रुपैयाँको राजश्व उठाउने संस्था बन्न सक्छ। तर आजकाल महत्वाकाँक्षा भन्दा निराशा बढी बिक्ने भएकोले त्यसमा अरु कुराकानी भएन ।
२०४०–२०५८ को बेला फरक थियो । पञ्चायत पनि असफलताले हण्डर खाएर केही चेतेको थियो, बहुदलले पनि केही गर्ने जोश देखाएको थियो । नेपालमा फ्रेन्च, ब्रिटिश, अरबियन बैंकहरुले शाखा खोल्न थाले । अमेरिकी सिटी बैंकले पनि संपर्क कार्यालय खोल्यो । डाबर, हिन्दूस्तान लिवर, कोल्गेट पाल्मोलिभ, कोडाक, पेप्सी, कार्ल्स्बर्गले फ्याक्ट्री खोले । बीमा कम्पनीहरु खुले, एयरलाइन्स कम्पनीहरु, हेलिकप्टर कम्पनीहरु खुले । यस्तै बृद्धि कार्पेट, गार्मेन्ट, बनस्पती घ्यु, चिनी, चिया, चाउचाउ उद्योगमा भयो । फिनल्याण्डको एन्सो ओयिज भन्ने विशाल कम्पनी (अहिले स्विडिश स्टोरा कम्पनीसँग मर्ज भएर स्टोर एन्सो भएको) नेपालमा आउन तयार थियो ।
विसं २०४७–४८ मा नेपालको निर्यात १.५ अर्ब भएकोमा २०५८–५९ मा २८.९ अर्ब पुग्यो । कुल आयातको झन्डै आधा निर्यात हुन पुगेको त्यहीबेला हो । यसमाथि अझै जलविद्युत र जंगलबाट विशाल आय गर्न सकिने अनुमान गरिएको थियो विसं २०५३ मा फिनल्याण्ड सरकारको सहयोगमा गरिएको एक अध्ययनले नेपालको जंगल व्यवस्थापन फिनल्याण्डतिर जस्तै राम्रोसँग गरेमा वर्षको ३० करोड डलर कमाइ गर्न सकिन्छ भन्ने प्रतिवेदन दियो । (तुलनाको लागि विसं २०५३/५४ को कुल राजश्व अनुमान ३४ अर्ब रुपैयाँ (अर्थात ५९ करोड डलर)को थियो)। त्यहीबेला जलविद्युत क्षेत्र निजी लगानीकर्तालाई खुला गरिएको थियो ।
ठीक त्यहीबेला नेपालले अन्तर्राष्ट्रिय वित्त कारोबारको केन्द्र बन्न सकिन्छ भन्ने आत्मविश्वास हासिल गर्यो । बोस्टनको कोलिन्स एन्ड एसोसियट्सले गरेको एक अध्ययनले अनुकुल मौसम, टाइम जोन आदिले गर्दा काठमाडौं अन्तर्राष्ट्रिय वित्तको केन्द्र हुनसक्छ भन्ने अध्ययन नेपाल सरकारलाई दियो । यो सबैको बीचमा उत्साहित नेपालले विसं २०५४ मा संसदबाट अन्तर्राष्ट्रिय वित्तिय कारोबार ऐन २०५४ पारित गर्यो । अहिलेको मरिसस, हङकङ जस्तै हुनसकिन्छ भन्ने आशा त्यो बेला गरिएको थियो ।
यो मुलुकको दोश्रो औद्योगिकिकरणको वेभको रुपमा एक सुखान्त सफल कथा बन्न सक्थ्यो । तर यसपछि लडाईं चर्क्यो, धेरै फ्याक्ट्रीहरु बन्द भए, नयाँँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीहरु आएनन्, राजाहरु मरेर गए । सँगसँगै हाम्रो महत्वाकाँक्षामा पनि ब्रेक लाग्यो । मलाई लाग्छ, धितोपत्र कारोबारमा व्यापक सुधार गरेर नेपाली स्टकमा भुटान, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड , श्रीलंका लगायत सबै मुलुकका लगानीकर्तालाई स्वागत गरेमा पुरानो सपनाको केही टुक्रा फेरि लिएर उठ्न सकिन्छ ।