जीवा लामिछाने ।
नेपाल र भारतका केही उद्यमी-व्यवसायी साथीहरुसंग हालै रुसको राजधानी मस्को र सेन्ट पिटसबर्ग पुगेर म फर्कें । सन् २०१४ मा क्रिमियाको विवादपछि अमेरिका र युरोपेली संघका देशहरुले रुस विरुद्ध आर्थिक नाकाबन्दी लगाउन सुरु गरे । सन् २०२२ मा रुस–यूक्रेन युद्द सुरु भएपछि यो नाकाबन्दी अझ व्यापक बनाइयो । यो नाकाबन्दीको प्रकृति आफैंमा अचम्म पार्ने खालको छ । तेल, ग्यास, अमुल्य खनिज पदार्थ लगायत रुससंग पश्चिमी देशहरु निर्भर रहनु पर्ने सामग्रीको निर्यातमा आंशिक प्रतिबन्ध मात्रै छ । केही अपवाद बाहेक अधिकाशं रुसी बैंकहरुको स्विफ्ट सिस्टम सस्पेंड गरिएको छ । अनेकथरि उपभोग्य सामग्री र ठुला व्यवसायिक घराना, ब्युरोक्र्याट र केही राजनीतिज्ञहरु नाकाबन्दीको लिस्टमा परेका छन् । प्रतिउत्तरमा रुसले पनि तत् तत् देशका निश्चित सामग्री आयातमा प्रतिबन्ध लगाई दिएर त्यस्ता सामग्रीहरु चीन, भारत, दक्षिण अमेरिका लगायतका देशहरूबाट आयात गर्न सुरु गर्यो । सुरुको केही महिना आर्थिक नाकाबन्दीले रुसको अर्थतन्त्रमा निक्कै ठुलो झट्का हानेको थियो । बिदेशी मुद्राको संचितिमा कमी, राष्ट्रिय मुद्रा रुबलमा आएको भारी अबमुल्यन आदि देख्दा यस्तो लाग्थ्यो, लामो समय रुसले यो नाकाबन्दी थेग्न सक्ने छैन ।
यसवर्षको मार्च महिनामा पश्चिमी मुलुकहरुद्वारा रुसबिरुद्ध नाकाबन्दी लगाएको १० वर्ष पुरा भयो । १० वर्ष लामो नाकाबन्दीका बाबजुद रुसी अर्थतन्त्रमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन् । रुसको वैदेशिक मुद्रा संचिति ३०० बिलियन डलरबाट बढेर अहिले ६ सय बिलियन डलर नाघेको छ (अमेरिका र पश्चिमी देशहरुले फ्रिज गरिदिएको रुसी केन्द्रीय बैंकको ३०० बिलियन डलर समेत) ! विदेशी मुद्रा संचितिका हिसाबले चीन, जापान, स्विटजर्ल्याण्ड र भारतपछि रुस पॉचौं स्थानमा पुगेको छ । केन्द्रीय ब्याङ्कमा सुनको संचिति अल टाइम हाइ अर्थात् २३०० मेट्रिक टन पुगेको छ । अमेरिका, जर्मनी, इटाली र फ्रान्स पछी सुन संचितिमा रुस अहिले पाँचौ स्थानमा छ ।
ग्रामीण इलाकातिर पहिले बिरलै देखिने ग्रीनहाउस अहिले यत्रतत्र देखिन्छन् । कृषकलाई सरकारले विशेष सहुलियत प्रदान गर्ने नीति अबलम्बन गरेको छ । फलस्वरूप यो अवधिमा कयौं कृषि उत्पादनमा रुस आत्मनिर्भर मात्र नभई निर्यात गर्ने हैसियतमा पुगेको छ । गहुँ उत्पादन, पोल्ट्री र बंगुर पालन निक्कै फस्टाएको छ । तेल,ग्यास पछी हात–हतियार निर्यातलाई बिस्थापित गर्दै कृषि उत्पादन निर्यात दोश्रो स्थानमा पुगेको छ । रुसी बजार छोडेर गएका पश्चिमी कम्पनीहरुका ठाउँमा दर्जनौ रुसी कम्पनीहरु उदाएका छन् । चीन, भारत मात्रै नभएर अफ्रिका, दक्षिण अमेरिकालगायत मध्यपूर्वका देशहरूले मस्कोसँग व्यापार जारी राखेका मात्रै छैनन्, अझ बढाएका छन् ।
रुसी नागरिकहरुलाई पश्चिमी देशमा व्यवसाय गर्न र रियल स्टेट खरिदमा प्रतिबन्ध लागेकोले ठूलो मात्रामा क्यापिटल फ्लाइट रोकिएको छ । कुरैकुरामा एक रुसी मित्रले भन्न भ्याएः नाकाबन्दी त हामीलाई फाप्ला जस्तो पो लाग्न थाल्यो (Кажется, санкция нам ползу принесут)
आर्थिक कारोबारका हिसाबले विश्वका सबै देशहरु अहिले माखे सांग्लो झैँ एकआपसमा जेलिएका छन् । त्यसकारण उनले भने झैँ आर्थिक नाकाबन्दी देशको उन्नतिका लागि फलदायी त पक्कै नहोला । यसले त्यहाँको अर्थतन्त्रमा दीर्घकालिन असर अवस्य पार्नेछ । तर आर्थिक नाकाबन्दी लगाएर रुसलाई घुँडा टेकाउने पश्चिमाहरुको चाहना छिट्टै पुरा हुने छाँट भने अझै देखिएको छैन ।