भारतमाथि नेपालको एतिहासिक जित

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । शनिबार दिउँसो भएको लिग चरणको खेलमा  भारतलाई ३-२ को सेटमा हराउँदै नेपालले एतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

यससँगै नेपालले सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भोगेको हारको बदला लिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खचाखच दर्शकमाझ भएको प्रतिपर्धात्मक खेलको पहिलो सेट नेपालले २५-१८ ले जित्दै शुरुवाती अग्रता लिएको थियो । दोस्रो सेटमा फितलो प्रदर्शन गरेको नेपालले २५-१२ ले भारतलाई सुम्पियो ।

तर तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-१७ ले जित्दै खेलमा २-१ को अग्रता लिएको थियो । प्रतिपर्धात्मक बनेको चौथो सेटमा भारतले २५-१८ ले जित निकालेपछि खेल अन्तिम सेटसम्म लम्बिएको थियो ।

यस्तै पाँचौ तथा अन्तिम सेटमा शुरुवातदेखिनै अग्रता लिएको नेपालले १५-१३ ले जित्दै भारतमाथि एतिहासिक जित दर्ता गरेको हो ।

जितसँगै नेपाल दुई खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको भारत ७ अंककोसाथ शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *