बीबीसी । इरानको राजधानी तेहरानमा इजरायलले गरेको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर हमासका शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको भोलिपल्ट इजरायली सेनाले हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफको जुलाई १३ मा गाजा स्ट्रिपमा गरिएको कारबाहीमा मृत्यु भएको घोषणा गरेको छ ।
उनको पूरा नाम मोहम्मद दैयब अल–मसरी हो । उनले आफ्नो नाम अबु खालिद पनि राखेका थिए भने उनको बोलाउने नाम अल डेफ हो । इजरायली सेनाले जुलाई १३ मा गाजा स्ट्रिपको खान यूनिसमा गरिएको एउटा हवाई आक्रमणमा डेफको मृत्यु भएको जनाएको छ।
इरानमा इजरायलले गरेको भनिएको आक्रमणमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको मृत्यु भएको भोलपल्ट इजरायली सेनाले डेफको मृत्यु भइसकेको घोषणा गरेको हो । यसअघि अमेरिकाले पनि डेफको मृत्यु भइसकेको बताएको थियो । यद्यपि हमासले उनको अवस्थाबारे केही बताएको छैन ।
सन् १९६५ मा गाजामा जन्मिएका उनले हमासको सैन्य सङ्गठन इज्ज अल–दिन अल–कसम ब्रिगेडको नेतृत्व गर्छन् । प्यालेस्टिनीहरू उनलाई ‘योजनाकार’ का रूपमा र इजरायलीहरू उनलाई ‘द क्याट विथ नाइन लाइभ्स’ भनेर चिन्छन् ।
उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गरेका छन्। नाटक र अभिनयमा रुचि भएका उनले सुरुमा कलाकारहरूको एउटा समूह गठन गरेका थिए । त्यहीँबाट हमासको स्थापना घोषणा भयो। उनले कुनै आनाकानीबिनै यो समूहमा सहभागी हुने निर्णय लिए ।
उनलाई सन् १९८९ मा इजरायलले पक्राउ गरेको थियो। हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उनी पछि रिहा भए । उनी जेलमा रहेका समयमा इजरायली सैनिकहरूलाई समाउने हमासभन्दा भिन्न अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।
तदनुरूप उनले अल–कसम ब्रिगेड गठन गरे । उनी रिहा भएपछि इज्ज अल–दिन अल–कसम ब्रिगेड गठन भयो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ पनि देखिए । डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गरे। ती सुरुङबाट उनीहरूले गाजाबाट इजरायल प्रवेश गर्ने बाटो बनाएका थिए ।