टियु मैदानलाई सुविधा सम्पन्न बनाउन प्रधानमन्त्रीद्वारा विश्वविद्यालयका पदाधिकारीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका हुन् । उक्त विषयलाई प्रधानमन्त्री ओलीले छलफलपछि सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *