ओलम्पिकमा अर्जेन्टिनामाथि मोरोक्कोको जित

एजेन्सी । पेरिस ओलम्पिक-२०२४ को पुरुष फूटबलमा मोरोक्कोले विजयी शुरुवात गरेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनालाई २-१ गोलले हराउँदै मोरोक्कोले ओलम्पिकमा सुखद शुरुवात गरेको हो ।

मोरोक्कोलाई जित दिलाउन सोउफिआने रहिमीले दुई गोल गरे । अर्जेन्टिनाको लागि गिउलिआनो सिमेओनले एक गोल फर्काए । खेलको पहिलो हाफको इन्जुरी समयमा रहिमीले गोल गर्दै मोरोक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४९ औं मिनेटमा रहिमीले गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा सिमेओनले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलको स्थितिमा ल्याए । दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा क्रिस्टियन मेडिनाले गोल गर्दै अर्जेन्टिनालाई २-२ गोलको बराबरीमा ल्याएका थिए । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान छोडे। तर खेल भने सकिएको थिएन । खेल करिब २ घण्टा अवरुद्ध रह्यो ।

दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । तर बाँकी समयको खेल शुरु हुनु अघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरेपछि बिना दर्शक बाँकी समय खेल खेलाइएको खेलमा मोरोक्को २-१ ले विजयी भयो ।

जितसँगै समूह ‘बी’मा रहेको मोरोक्कोले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *