काठमाडौं । शिक्षमन्त्री सुमना श्रेष्ठले युरोपेली मुलुकको पिआर लिएको भन्दै उनीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।
उजुरीपरेपछि सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ । सतर्कता केन्द्रको पत्र प्राप्त गरेपछि मन्त्री श्रेष्ठले आफूले कुनै देशको पिआर नलिएको बताएकी छन् ।
सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी उनले आफू नेपाली नागरिक भएको र अरु कुनै देशको पिआर र नागरिकता नलिएको स्पष्ट पारेकी हुन् ।
उनले भनेकी छन्, ‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पिआर वा नागरिकता लिएकी छैन । ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन । तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पिआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’
उनले आरोप के प्रमाणको आधारमा लगाइयो र लगाउनेको नियत र कस्तो बेला ल्याइयो भन्दै प्रश्न गरेकी छन् । मन्त्री श्रेष्ठले युरोपियन देशको पिआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे प्रकाश पारिदिन आग्रहसमेत गरेकी छन् ।