बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा । अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।

अज्ञान समूहले शुक्रबार साँझ गोली हानेर कुशवाहाको हत्या गरेको जिलला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए ।

गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पतालमा शुक्रबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए । अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *