भरत ताल उत्खनन् गर्दा ३० करोड भ्रष्टाचार गरेको भन्दै बागमतीका मेयरविरुद्ध अर्को मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा स्वीकृतिबिना अनधिकृतरूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा, गिटी, बालुवालगायतवन पैदावार उत्खनन् गरेको अख्तियारको निष्कर्ष छ ।

अख्तियारकाअनुसार सागरनाथ वन विकास परियोजना र नेपाल सरकारको स्वीकृतिबिना माछा पोखरी–१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर र बागमती माछा पोखरी–२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार गरी ३९ लाख ७३ हजार घनमिटर उत्खनन् गरेको पाइएको छ ।

पोखरी निर्माण गर्दा ३३ लाख ५९ हजार घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको र नपुग हुने वन पैदावार १३ लाख ४० हजार घनमिटर घोटाला गरेको अख्तियारले जनाएको छ।

अपुग परिमाणको मूल्य २६ करोड ८० लाख रूपैयाँबराबर हानिनोक्सानी भएको र १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोड्दा ३० करोड २९ लाख रूपैयाँ क्षति भएको दाबी गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि थापाविरुद्ध ५ करोड ३३ लाख रूपैयाँबराबर भ्रष्टाचारको अभियोगमा अर्को मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *