गाजामा स्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्ताव सुरक्षा परिषदबाट पारित

बीबीसी । संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको इजरायल–गाजा युद्धविरामसम्बन्धी योजना संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट पारित भएको छ । प्रस्तावमा ‘पूर्ण युद्धविराम’, हमासले बन्धक बनाएका मानिसहरूको मुक्ति, मृत्यु भएका बन्धकहरूको अवशेष फिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटफेरका विषयहरू छन् ।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको पक्षमा मतदान गरे भने रुस उक्त प्रक्रियामा सहभागी भएन । प्रस्तावमा इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गरेको उल्लेख गर्दै हमासलाई समेत त्यसमा सहमत हुन आह्वान गरिएको छ ।

सम्पन्न राष्ट्रहरूको समूह ‘जीसेभन’ र विभिन्न देशले जो बाइडनले मे ३१ मा सार्वजनिक गरेको उक्त योजनाप्रति समर्थन व्यक्त गरिसकेका थिए। उक्त योजनामा तीन भाग छन् ।

सुरक्षा परिषद्मा भएको मतदानका कारण द्वन्द्व अन्त्य गर्ने गरी दुवै पक्षलाई उक्त योजनामा सकारात्मक प्रतिक्रिया दबाव पर्न सक्ने देखिन्छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले प्रस्तावित शान्ति सम्झौताका लागि समर्थन जुटाउने प्रयासमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसहित विभिन्न विदेशी नेताहरूलाई भेटेको केही समयपछि अमेरिकी प्रस्ताव राष्ट्रसङ्घबाट पारित भएको छ ।

उक्त प्रस्तावमा द्वन्द्वका कारण धेरै विनाश भएको गाजाका लागि एउटा मुख्य पुनर्निर्माण योजना समाविष्ट छ । पहिलो चरणमा बन्धक र बन्दीहरूको आदानप्रदानका साथै अल्पकालीन युद्धविराम हुने छ ।

दोस्रो चरणमा ‘शत्रुताको स्थायी अन्य’का साथै गाजाबाट इजरायली सैनिकहरूको पूर्ण फिर्तीको विषय रहेको अमेरिकी प्रस्तावको मस्यौदामा छ ।

तेस्रो चरण त्यस क्षेत्रको दीर्घकालीन उद्देश्यमा केन्द्रित छ र त्यहाँ गाजाको लागि धेरै वर्ष लाग्ने पुनर्निर्माणको योजना सुरु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *