शिक्षकहरुको राजनीतिक आवद्धता नखोज्न शिक्षामन्त्रीलाई पौडेलको आग्रह

काठमाडौं । पूर्वशिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भएपनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पौडेलले शिक्षकहरुको राजनीतिक आवद्धता मात्र खोजेर समस्या समाधान नहुने बताएका हुन् । उनले शिक्षकले विद्यालयमा कस्तो शिक्षण गरेको छ भने अनुगमन गर्नुपर्ने बताए ।

उनले भने, ‘अरु कुरामा बहकाउमा नलाग्न र शिक्षकलाई तालिम दिने, खुसी पार्नेलगायत काम गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ पौडेलले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए । उने शिक्षकलाई गाली मात्र गरेमा समाधान नखोज्न शिक्षामन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र ? यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ ।’

उनले सबै विद्यालय र शिक्षक नराम्रा छन् भाष्य गलत भएको बताए । उनले बुटवलको कालिका मावि, चितवनको नारायणी, काठमाडौंको ज्ञानोदय माविलाई उत्कृष्ट बनाउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको बताए ।

उनले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको बताए । पौडेलले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे । उनले भने, ‘शिक्षालाई श्रम र उत्पादनसँग नजोड्ने हो भने देशले उन्नति गर्दैन ।’

पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे । शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक आवद्धता त्याग्न र नत्यागे कारबाही गर्ने चेतावनी दिँदै आएकी छन् । शिक्षामन्त्रीको कदमको अन्य राजनीतिक दलले भने विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *