उपेन्द्रको नजरमा कांग्रेस व्यवहार उल्टो, एमाले पतनको बाटोमा, माओवादी अवसरवादी(प्रतिवेदनसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबारदेखि जनकपुरधाममा जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा अध्यक्ष यादवले नेपालको राजनीतिमा जरो गाडिएका सामन्तवादी, पुँजीवादी र साम्यवादी शक्तिहरूको विकल्पमा समाजवादी लोकतान्त्रिक धारको सबल र सक्षम क्रान्तिकारी समाजवादी शक्ति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

उनले प्रतिवदेनमा प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्र विरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेकाले त्यसविरुद्ध संघर्षको आँधीबेहेरी सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा अध्यक्ष यादवले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस ठूला–ठूला भ्रष्टाचारमा डुबेको र वैचारिक रूपमा विमुख भइसकेको उल्लेख गरेका छन् ।

कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन नसक्ने गरी थङथिलो भइससकेको यादवले उल्लेख गरेका छन् । कांग्रेसको राजनीतिक लाइन समाजवाद भए पनि व्यवहार उल्टो भएकोले यादवले कांग्रेससँग धेरै कुरा नमिल्ने बताएका छन् । त्यसैगरी, उनले नेकपा एमाले एमाले पतनको बाटोमा लागेको उल्लेख गरेका छन् ।

एमालेमाथि विश्लेषण गर्ने क्रममा यादवले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा उदाङ्गिएको पनि उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले माओवादी केन्द्रका नेता, कार्यकर्ता, ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त रहेका उल्लेख गरेका हुन् । उनले माओवादी केन्द्र राजनीतिक रूपमा एमालेभन्दा भिन्न नभएको र चिन्तन र व्यवहारमा ढुलमुले, अवसरवादी चरित्र हाबी भएको दाबी गरेका छन् ।

राप्रपालाई धार्मिक भावनालाई राजनीतिक शक्तिमा दोहन गर्न र शक्तिमा फर्किन प्रयासरत शक्तिको रूपमा विश्लेषण गरेका छन् ।

अध्यक्ष यादवको प्रतिवदेनमा भनिएको छ, ‘जनताले गरेको लामो संघर्ष, त्याग र बलिदानद्वारा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिकाविरूद्ध प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्रविरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेका छन् । यस्ता शक्तिहरूबाट मुलुकलाई जोगाउन हामीले एक्लै वा लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू, पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर संघर्षको आँधीबेरी सिर्जना गर्नुपर्दछ।’

उनले प्रदेशहरूको संरचना त्रुटिपूर्ण रहेको उल्लेख गर्दै पहिचानमा आधारित १०+१ मोडलको प्रदेशमा जानु आवश्यक रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *