सत्ता गठबन्धनभित्र किन बढ्दैछ विवाद र प्रतिवाद ?

काठमाडौं । गत फागुनमा सत्ता गठबन्धन परिवर्तन भएसँगै लामो समयसम्मको तिक्तता मेट्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भयो । माधव नेपाल भेट्न एमाले अध्यक्ष ओली नेपाल निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल र प्रचण्डको नाम लिएपछि एकपटक कुल्ला गर्छु भन्ने ओली नेपाल निवास कोटेश्वर पुगेर सरकारमा सहभागी हुन आग्रह गरेपछि एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार भयो । अनि उसले पार्टीबाट सरकारमा दुई मन्त्री पठायो । केही दिन त ओली–नेपाल सम्बन्ध सुमधुर भएको देखिएको थियो । तर त्यो लामो समयसम्म रहेन । सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति कार्यान्वयन नभएपछि माधव नेपाल आक्रोशित भएका थिए । यसै विषयलाई लिएर वैशाख ३ गतेको पार्टी संसदीय दलको बैठकमा ओलीले माधव नेपालको खुबै आलोचना गरे ।

उनले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम एकीकृत समाजवादीले चालेको बताएका थिए । त्यसपछि वैशाख ८ गते एक कार्यक्रममा माधव नेपालले राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा नगर्न ओलीलाई चेतावनी दिए । आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने तर अरुले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने बताएका थिए । माधव नेपालले सुदूरपश्चिमको नेतृत्व पाउनुपर्छ भन्ने अडान लिएपछि एमाले दिन तयार भयो र एकीकृत समाजवादीले नेतृत्व त लियो । तर सरकारमा एमाले सहभागी भएको छैन । जसले गर्दा सरकारले पूर्णता पाएको छैन । यसमा अझै एमालेको अल्झन छ ।

यतिबेलासम्म सत्ता गठबन्धन दलमा यी दुई दलका नेताबीच आरोप प्रत्यारोप चलेपनि सत्ताघटक अन्य दलमाथि एकले अर्कोलाई यसरी आरोपप्रत्यारोप चलेको थिएन ।गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीको यत्रो आरोप लगाएर सदन अवरुद्ध भइरहँदा एमालेले उनको पक्ष लिएको थियो । जसका कारण लामो रस्साकस्सीपछि मात्र संसदीय छानबिन समिति बनेको छ । संसदीय समिति माग गर्ने नेपाली कांग्रेसलाई जवाफ दिने क्रममा एक दिन एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भंगेरासँग तुलाना गरे । उनले कांग्रेसजस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भंगेरा मार्न तोप बोकेर जानु सरह भएको उनले टिप्पणी गरे । उनले भने, ‘अहिले नेपाली कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने भन्ने पात्रका बिरुद्ध कांग्रेस खनिएको छ। कांग्रेस जस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर । ‘बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो।’

ओलीले पार्टीलाई भंगेरासँग तुलना गरेकोमा रास्वाको नेतृत्वले यसको प्रतिवाद गरेन । किन गरेन भन्दा सहकारी प्रकरणमा एमालेले जोगाउन सहयोग गरेको छ । तर रास्वापका केन्द्रीय सदस्य गणेश कार्कीले भने ओलीको अभिव्यक्तिको प्रतिवाद गरे । उनले सामाजिक संजालमा लेखे, ‘भाषण गर्ने क्रममा आज एमाले अध्यक्ष ओलीले भनेछन्, ‘खोइ रवि लामिछाने कि को भन्ने एकजना बाबुका विरूद्धमा कांग्रेस खनिएको छ …. भँगेरा मार्न जाने तोप बोकेर ।’ ओलीको यो बोली या त असिम प्रेमको हो या अति हेपाइको । जुन भए पनि हानीकारक छन् । जुन विकृत प्रवृतिको विरोधमा त्यत्रो अभियान चलाइयो, त्यसले असिम प्रेम किन गर्छ ? जोसँग कुममा कुम जोडेर प्रचण्डको रथ तानिदैछ, त्यसैको त्यस्तो हेपाइ किन सहिन्छ ? कुनै पनि प्रश्नको जवाफ थाहा पाएको समय राजनीतिले सही दिशा भेट्छ ।’
जेठ १५ मा बजेट आयो । बजेटप्रति पनि एमाले अध्यक्ष ओलीले सरकारको आलोचना गरे । ओलीले बजेटलाई अन्योलग्रस्त भएको टिप्पणी गरे । उनले भने, ‘दफावार हिसाबले नजाँदा पनि यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो भन्ने देखिन गएको छ ।’

यही बीचमा एमाले अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा मन्त्री सुमना श्रेष्ठलाई लक्षित गरेको अभिव्यक्ति बाहिर आयो । ओलीको अभिव्यक्तिको रास्वपाका नेतृत्वले तत्काल कुनै प्रतिक्रया जनाएन । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने तत्काल प्रतिक्रिया जनाउँदै भने, ‘यिनै लिङ्गद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी पार्नु पर्ने हो सायद । तर यिनीहरुलाई भन्न चै पर्छ, देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ ।’

ओलीको यो अभिव्यक्तिको प्रतिवाद गर्न रास्वपा नेतृत्व र स्वयम् सुमना श्रेष्ठलाई भने झण्डै एक हप्ता लाग्यो । सुरुमा सदनमा रास्वपाका सांसद शिशिर खनालले ओलीको अभिव्यक्तिको प्रतिवाद गरेपछि पार्टी सभापति रवि लामिछाने र सुमनाले यसको प्रतिवाद गरेका थिए । भंगेरोसँग पार्टीलाई तुलाना गर्दा चुइँक्क नबोलेको रास्वपाको नेतृत्व सुमना प्रकरणमा भने एकहप्तापछि भनेपनि प्रतिवादमा उत्रेको छ । हुन त संसदीय निर्वाचन परिणाम आएलगत्तै आयोजित एक कार्यक्रममा ओलीले रवि लामिछाने नेतृत्वको रास्वापको नाममानै आलोचना गरेका थिए । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै ओलीले आलोचना गरेका थिए । त्यसक्रममा उनले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।

यहाँसम्म आइपुग्दा गठबन्धन दलहरुभित्र एमालेको असन्तोष बढ्दै गएको देखिएको छ । सुरुमा एकीकृत समाजवादीसँग मात्रै आरोप प्रत्यारोप चलेपनि अहिलेसम्म आइपुग्दा एमाले नेतृत्व बजेटपछि माओवादीसँग पनि असन्तुष्ट देखिएको छ । त्यस्तै रास्वापाप्रतिको टिप्पणी पनि फरक देखिन थालेको छ । केही समय अघिसम्म आफ्नो पार्टीप्रति गरेको टिप्पणीमा मौन बसेको रास्वपा अहिले त्यसको प्रतिवादमा उत्रिन थालेको छ । अब एक पक्षले आरोप लगाउँदै जाने र अर्कोले प्रतिवाद गर्न थाल्यो भने कहाँ पुग्ला गठबन्धन ? यो गठबन्धनभित्रको गडबडको संकेत त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *