आक्रामक मुडमा प्रचण्ड

काठमाडौं । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो । यही बीचमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिनुपर्ने भयो र जेठ ७ गते मिति तय भएको थियो । तर नेपाली कांग्रेसका सांसद वेल घेराउ गर्दै सदनमा नाराबाजी गरिरहेका थिए । तर प्रधानमन्त्री मार्सल लगाएर रोष्ट्रममा विश्वासको मत माग्न पुगे । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेपछि प्रधानमन्त्री कांग्रेसप्रति आक्रोशित भए । त्यसक्रममा प्रधानमन्त्रीले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताए ।

उनले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको र यसले आफूलाई दुःखी तुल्याएको पनि बताए । उनले भनेका थिए, ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो ।’ प्रधानमन्त्रीले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए । उनले भने, ‘तपाईंहरू नेपाली कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा ।’ प्रधानमन्त्री यतिमै सीमित भएनन् । संसदबाट बाहिरिने क्रममा संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसलाई आगामी चुनावमा देखाइदिने बताए । उनले भने,‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ । आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ । जरुरी पर्यो भने १०/१२ पटक विश्वासको मत लिन्छु ।’

कांग्रेसको संसदीय समिति गठनको मागले प्रधानमन्त्री तनावमा थिए र उनी कांग्रेसप्रति आक्रोशित भएका हुन् । तर यस्तो आक्रोश पोखेको केही दिनमै सत्तापक्ष संसदीय समिति गठनमा सहमत भयो र सात सदस्यीय समिति गठन भइसकेको छ । संसदीय समिति गठन भइसकेपनि सहकारी समस्याले प्रधानमन्त्रीलाई छाडेको छैन । बुधबार पोखरा पुगेका प्रधानमन्त्रीलाई त्यहाँ सूर्यदर्शन सहकारीका पीडितले कालोझण्डा देखाउँदै प्रदर्शन गरे । त्यसपछि प्रधानमन्त्रीले सहकारी पीतिडप्रति आक्रोश पोखे । प्रधानमन्त्री प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताए । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।’

खासमा सहकारी पीडित प्रधानमन्त्रीविरुद्ध किन यसरी उत्रिए भन्नका लागि केही समय अघितिर जानुपर्ने हुन्छ । गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणको विषयमा कांग्रेसले जवाफ माग्दा प्रधानमन्त्रीले सदनमा गृहमन्त्री निर्दोष रहेको भन्दै क्लिनचिट दिएका थिए । जसका कारण सहकारी पीडित प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिए । तर संसदीय समिति माग्दा कांग्रेसविरुद्ध जसरी उत्रिए सहकारी पीडितविरुद्ध पनि त्यसैगरी उत्रिए ।

कांग्रेसले काम गर्न नदिएको भन्दै सहकार्य तोडेर गत फागुनमा प्रचण्डले एमालेसँग गठबन्धन गरेका थिए । नयाँ गठबन्धनपछि प्रचण्ड उत्साहित देखिएका थिए । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका थिए । उनले भनेका थिए, ‘म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।’
गठबन्धन फेर्दा जति सुरुमा जति प्रचण्ड उत्साहित थिए, पछिल्लो समय भने सत्ता संकट बेहोर्न थालेका छन् । एकातिर सहकारी प्रकरणले गृहमन्त्रीका कारण रास्वपाले सरकार छाड्न सक्ने सम्भावना अझै कायमै छ । त्यस्तै बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा माधव नेपाल पुगेको विषयमाले सत्तापक्ष तरंगित बन्यो । त्यसपछि माधव नेपालसँग पटक पटक बैठक गरेर मधेस सरकारमा जसपा नेतृत्वको सरकार ढाल्न त सफल भए तर केन्द्रको सत्ता संकट टरेको छैन । यसबाट पनि प्रधानमन्त्री तनावमा छन् ।

प्रधानमन्त्रीलाई यतिबेला अर्को तनाव पनि थपिएको छ । एमाले अध्यक्ष ओलीले बजेटको समर्थन गरेपनि बजेट आफूहरुसँग छलफल नगरी ल्यायो भन्ने अभिव्यक्ति । संसदीय दलको बैठकमा ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे । उनले भनेका थिए, ‘एकदमै सामान्य हिसाबले भन्ने हो भने, दफाबार हिसाबले नजाँदा पनि, यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ। रकम बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ ।’

प्रधानमन्त्री जसरी अघिल्लो गठबन्धनमा कम्फर्टेबल थिए, नयाँ गठबन्धनमा आएपछि त्यो कम्फर्टेबल देखिएको छैन । सहकारी प्रकरणबाट सुरु भएको संकट बजेटमा एमालेको असन्तुष्टिसम्म आइपुग्दा सत्ता संकट झन् बढ्दै गएको छ । यिनै कारण त होला प्रधानमन्त्रीका पछिल्ला आक्रोश । नत्र प्रधानमन्त्री आक्रोशित हुनुपर्ने अरु कारण कुनै छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *