स्पेन, नर्वे र आयरल्यान्डले प्यालेस्टिन राज्यलाई मान्यता दिएपछि प्यालेस्टिनी प्रधानमन्त्रीद्वारा मेड्रिडको भ्रमण

 

स्पेन, नर्वे र आयरल्यान्डले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार मेड्रिडमा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र मध्यपूर्वका धेरै मुलुकका प्रमुख अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

मङ्गलबार तीन पश्चिमी युरोपेली मुलुकको कूटनीतकि कदमको इजराइलले आलोचना गरेको थियो । गाजामा यसले भीषण युद्धमा तत्काल थोरै प्रभाव पार्नेछ । तर तीन युरोपेली मुलुकको कदम प्यालेस्टिनीहरूका लागि जित थियो र अन्य पश्चिमी शक्तिहरूलाई यस्तै कदम चाल्न प्रोत्साहित गर्न सक्छ ।

भेटपछि मुस्तफाले भने, “राष्ट्रपति (महमुद) अब्बास, प्यालेस्टिन सरकार र प्यालेस्टिनी जनताका तर्फबाट हामी स्पेनले प्यालेस्टिन राज्यको मान्यता दिएकामा हार्दिक स्वागत गर्दछौँ, यो मान्यताले न्यायपूर्ण र दिगो शान्तिका लागि हाम्रो सङ्घर्षलाई जारी राख्ने हाम्रो सङ्कल्पलाई बलियो बनाउँछ ।”

मुस्तफासँग साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी, इस्लामिक सहयोग सङ्गठनका अध्यक्ष हुसेन इब्राहिम ताहा र टर्की तथा जोर्डनका विदेशमन्त्री, गाजाका लागि अरबी तथा इस्लामी मुलकुहरूको विदेशमन्त्री समिति नामक समूहका सदस्यहरू सहभागी थिए । उनीहरूले स्पेनका विदेशमन्त्री जोस म्यानुअल अल्बारेससँग पनि भेट गरे ।

प्यालेस्टिनी राज्यलाई एक सय ४० भन्दा धेरै मुलुकले मान्यता दिन्छन् । यो सङ्ख्या राष्ट्रसङ्घीय सदस्य मुलुकहरूको दुई तिहाईभन्दा धेरै हो ।

स्पेन र आयरल्यान्डसँगै प्यालेस्टिनी राज्यलाई आधिकारिकरूपमा मान्यता दिने मुलुकहरू युरोपेली सङ्घ (इयु) बाट नौ वटा पुगेका छन् । नर्वे इयुको सदस्य नभए पनि उसको विदेश नीति सामान्यतया इयुअनुरूप छ । इयुको सदस्य स्लोभेनियाले बिहीबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने र अन्तिम अनुमोदनका लागि संसद्मा पठाउने निर्णय गर्नेछ ।

“हामी स्पेनलाई सलाम गर्छौं र सही काम गरेकामा नर्वे, आयरल्यान्ड र स्लोभेनियालाई सलाम गर्दछौँ, हामी अन्य युरोपेली साझेदारहरूलाई पनि यस्तै निर्णय गर्न आग्रह गर्दछौँ”, जोर्डनका विदेशमन्त्री अयमान सफादीले भने ।

प्यालेस्टिनी राज्यलाई मान्यता दिने कदमले इयु र इजराइलबीचको सम्बन्ध चिसिएको छ । मेड्रिड र डब्लिनले दक्षिणी गाजा सहर रफाहमा इजराइलको लगातार आक्रमणका लागि इयुमाथि कदम चाल्न जोड दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *