कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै उनलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा आफूलाई पक्राउ गरिएको सिरोहियाले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक–पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका उनले बताएका छन् ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *