जसले कोठा भाडा तिर्न नसक्दा आत्महत्याको बाटो रोजे

 

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि सोेचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिए ।

कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज विहान फेला परेको प्रहरीको भनाइ छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कृष्णको शव भेटिएपछि छोरा रिचेन घाइते अवस्थामा भेटिएका थिए । दुवै जना मुखका कालो कपडाले छोपिएको र घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

प्रवक्ता अधिकारीले भने, “घाइते अवस्थामा आज भेटिएका रिचेनलाई प्रहरीले हिजो पनि चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दैगर्दाको अवस्थामा उद्धार गरेको खुल्न आएको छ ।”

प्रहरीका अनुसार कृष्ण बिगत १५ वर्षदेखि टयाक्सी चलाउदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौँको रबिभवन, गणेशथानमा भाडाको कोठामा बस्दै आएका थिए । पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जना ट्याक्सीमा रात कटाउँदै आएको प्रहरीको भनाइ छ ।

रिचेन र रश्मीको मानसिक अवस्था सामान्य नदेखिएको खुल्न आएको प्रहरीले जनाएको छ । कृष्णले सोमबार सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै छोरीलाई त्यही छाडेर छोरासँगै हिँडेका थिए । प्रहरीले आज विहान सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको थियो । रश्मीलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *