रास्वपाका नेता भन्छन्-रवि लामिछानेको नाम बीचमा घुसाएर एमालेले बनाउन चाहेको ‘मानवढाल’ मात्र हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको नाम बीचमा घुसाएर एमाले अध्यक्ष केपी शर्मा ओली ’मानवढाल’ मात्र बनाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार सामाजिक संजालमार्फत कार्कीले ओलीको ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ, अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने अभिव्यक्ति त्यसैको उदाहरण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमान छ । त्यसमा केपी ओलीको नाम सोझै जोडिन्छ । त्यही डरले ’रवि लामिछानेलाई बोल्न नदिनेलाई हामी पनि बोल्न दिदैनौँ’ भन्ने एमाले अध्यक्ष ओलीको भनाई आएको हो भन्ने जोकोहीले अनुमान गर्न सक्छ । रवि लामिछानेको नाम बीचमा घुसाएर ओलीले बनाउन चाहेको ‘मानवढाल’ मात्र हो । कसैलाई तर्क राख्न नदिनु अलोकतान्त्रिक र निन्दनीय हो भन्नेमा स्पष्ट हामीलाई देखाएर अर्को अलोकतान्त्रिक अभ्यास हुन्छ भने त्यो पनि निन्दनीय नै हुन्छ ।’

उनले पार्टी सभापति लामिछानेलाई संसदमा उभिएर तर्क राख्न नदिएर कांग्रेसले अलोकतान्त्रिक चरित्र देखाएको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रा सभापति रवि लामिछानेले संसदमा उभिएर आफ्ना तर्क राख्न नपाउनु कांग्रेसको अलोकतान्त्रिक र निन्दनीय कार्य हो । भोलि हाम्रा सभापतिलाई संसदमा आफ्ना तर्क राख्न दिएर कांग्रेसले आफ्नो गल्ति सच्याओस् । यसअघि भएका अलोकतान्त्रिक रोकावटका लागि माफी मागोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *