पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

 

 

काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधबार काठमाडौँ आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथ्य मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

साथै, उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नेछन् । उपनिर्देशक ह्वाइट भर्खरै नेपाल आइपुगेका १० जना ‘पिस कोर रेस्पोन्स भोलेन्टियर’हरूको सपथ ग्रहण समारोहमा पनि सहभागी हुनेछन् ।

नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकलाई अल्पकालीन अवधिका, उच्च–प्रभाव दिने खालका कामहरू पूरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नेछन् । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनामा काम गर्दछन् ।  समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन् ।

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । सपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ््ख्या ५० पुग्ने भएको छ ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो । त्यसयता झन्डै चार हजार अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन् ।

विश्वभरिका सरकारहरूको निमन्त्रणामा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन् ।

सेवाको माध्यमबाट पिस कोर सञ्जालका सदस्यहरूले स्थानान्तरण योग्य सीपका साथै अन्तरसांस्कृतिक क्षमता विकास गर्दछन् । यसले उनीहरूलाई अर्को पुस्ताका विश्वव्यापी नेतृत्वकर्ताका रूपमा तयार पार्दछ । सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि दुई लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिकहरूले विश्वभर १४२ वटा मुलुकमा सेवा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *