संसदमा आफूमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने माग दोहोर्याएका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिए ।

उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने बताए । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनको भनाइ छ ।

लामिछानेले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरे । कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए ।

एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने बिषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *