भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

 

भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई अब रगत पाउन सहज हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा केन्द्रको स्तरोन्नति र सेवा विस्तारमा विशेष ध्यान उनले आग्रह गरिन् । यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले रगतको  माग पनि धेरै हुने हुँदा रक्तसञ्चार केन्द्र आवश्यक भएको प्रमुख दाहालले बताइन् ।

“बिरामीको चाप अनुसार पूर्वाधार, कर्मचारी र उपकरणको अभाव छ”, उनले भनिन्, “अस्पताल विस्तार र सेवा थप गर्ने योजनामा महानगर सहकार्य गर्न तयार छ ।”

अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ । अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको न्यूनतम सेवा मापदण्ड भित्र ब्लड बैंक पर्ने उल्लेख गर्दै बिरामीको सहजताका लागि ब्लड बैंक सञ्चालन गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेलले काठमाडौँ उपत्यकामा एक लाख युनिटभन्दा बढी र चितवनका अस्पतालहरूमा वार्षिक ६० हजार युनिट रगतको माग रहेको जानकारी दिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले अस्पतालमा धेरै समयको प्रयासपछि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *