बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बिहीबार जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको हो ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुनेमा तुलसी नारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, सुमन शाक्य, कृष्ण शंकर शाह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्ड राज प्रधान, रामकाजी कोने र योगेन्द्र बहादुर शाही छन् । त्यस्तै दीपक दास श्रेष्ठ, चिरञ्जिवि तिवारी, प्रविण राज जोशी, मुरारी निधी तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा सेढाईं, अमिन सिंहानिया, सिद्धार्थ केडिया र किर्ति प्रसाद पाण्डेविरुद्ध पुर्जी जारी भएको छ ।

सङगठनका पूर्वपदाधिकारीदेखि  जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ ।”

सिआइबीले बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिविरूद्ध जाहेरी दर्ता गरेको थियो । पक्राउ पुर्जी जारी हुनेमा संगठनका पूर्व कार्यसमिति सदस्यहरू हुन् । नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी ब्युरोमा परेको थियो । नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *