प्रिमियर लिगमा लिभरपुल पराजित, युनाइटेडको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल पराजित हुँदा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २-० गोलले पराजित भएको हो ।

गुडिसन पार्कमा भएको खेलमा एभर्टनलाई जित दिलाउन जारड ब्रान्थवाइट र डोमिनिक काल्भेर्ट लेविनले समान एक/एक गोल गरे । खेलको २७ औं मिनेटमा ब्रान्थवाइटले गोल गर्दै एभर्टनलाई शुरुवाती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा काल्भेर्ट लेविनले गोल गर्दै एभर्टनलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै एभर्टन ३४ खेलबाट ३३ अंक जोड्दै लिगको १६ औं स्थानमा  उक्लिएको छ । समान खेलबाट ७४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४-२ गोलले हराएको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा ह्यारी मगायर र रास्मुस होज्लुन्डले समान एक/एक गोल गरे । शेफिल्डको लागि जेडन बोग्ले र बेन ब्रेरेटोन डियाजले समान एक/एक गोल गरे ।

जितसँगै युनाइटेड ३३ खेलबाट ५३ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । एक खेल बढि खेल्दै सेफिल्ड १६ अंकको साथ २० औं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *